Saturday, March 16, 2013

मेरो जन्म र कर्मथलो



मेरो जन्मथलो गिरेचौर हो आनन्दको सागर
साथीभाइ थिए मिजासी मनका ऐले भए ती पर
हुन्थे मेल र खेलका समयमा सल्लाह आपस्तमा
ज्यादै बेस थिए सबै उनीहरु ताजा छ यो सम्झना ।।१।।

हामी बस्तु चराउँथ्यौँ वरिपरि त्यो रम्य डाँडामनि
ती पाखा र बनेली भव्य अलछी ढुङ्गा र छानामनि
ढोका थापी त्यही समीप प्रहरी ठाना हुँदो हो अघि
त्यो डाँडो छ पहारिलो सब खुला बाटो सजिलो त्यही ।।२।।

मीठा ज्यामिर सुन्तला र कमला च्युरी र बेलाउती
खाई मक्ख भएर खेलहरुमा आनन्द यताउति
मेला पात र अर्म पर्म कहिले जन्ती मलामी पनि
हुन्थे मेलमिलाप गाउँघरमा सच्चा छिमेकी बनी ।।३।।

यौटा ठाँटी थियो छ है अझ खडा पुर्खाहरुले सजी
सानो त्यो कुटीमा थिए हँसमुखी श्री कर्पुरा नन्दजी
ठूला पीपल आँपका रुख थिए फल्थे रसिला फल
खेल्थ्यौँ पीङ रमाइलो चउर त्यो सम्झी रसायो दिल ।।४।।

ठाँटीभित्र चिरञ्जीवी नरहरि श्री प्रेमराजै गुरु
आई शिक्षण कार्यमा रत थिए, सम्पूर्ण हामीहरु
विद्यार्थी जतिजो थिए पठनले प्रख्यात धेरै भए
पढ्थ्यौँ ज्योतिष कौमुदी संस्कृतकै साहित्य भाषा थिए ।।५।।

मिल्दो नाम पुकारिने थरीथरी ती खेतबारी थिए
पाही पात सबै उतैतिर हुँदा ऐले विराना भए
सम्बन्धी कृषिकर्मीका जतनले सप्रिरहेका भए
हामीलाई समेत आसिक दिऊन् ती भूमिका देवले ।।६।।

सारा लास लगी दुराहरु उहीँ पोल्ने र गाड्ने थलो
ती पाटा भरि छन् चिहान उनका चिहानपाटा भयो
डाँडामाथि दुरा समूह रहँदा गाउँ खजेकै भए
हेर्दा सालिकमा दिवंगत खजे देखा परी उभिए ।।७।।

श्री चन्द्रेश्वर स्कूल क्याम्पस अरु धेरै बने ती घर
अस्पताल दोकान भट्टी तकले बन्दै छ यो सुन्दर
सारा मानिस भै खचाखच यहाँ मेला सभा चल्दछन्
यो केद्रस्थल हो सुशोभित दुराडाँडा उज्यालो छ झन् ।।८।।

चैते खेत घमाइलो छ नजिकै ठूला गरा सम्थर
गाई गोरु समेत चर्न रसिलो त्यो लाम्धुरी मन्तिर
सिस्नेरी अनि अर्चले तुरतरे स्याङ्से बनी शोभन
ऐसेलु र अँगेरी काफल तिँदु धोबेनी मिल्ने वन ।।९।।

भोगेका सुखशान्तिका लहरमा सम्पन्न मेरो मन
बिर्सीबिर्सी सकिन्न शीतल हवा पानी पिएका दिन
ती पाखा वन खेत गाउँ घर छन् आँखा र छाती भरि
छन् ती नित्य, अनित्य एक म घुमौँ त्यो भेकमा के गरी ?।।१०।।

आईथिन् सँगिनी अगाडि खुस भै सम्झेर पितृस्थल
धाएँ फेरि पछाडि मै पनि उतै सम्पर्कमा केवल
जैलेसम्म बहन्छ जीवन नदी माया छ त्यै ठाउँको
छोडी जन्मथलो बसाइ पर भो यो सम्झनामा रह्यो ।।११।।

आफ्नै मन्जुरीले परिस्थिति मिली यो अर्चल्यानी झरेँ
शिक्षाद्वार समेतका सँग रही साहित्य सेवा गरेँ
ऐले यी परिवार छन् सब यतै भिन्नै कथा यो भयो
बाली खेत समेत आर्जन गरी सम्पूर्ण आफ्नै छ यो ।।१२।।

शिक्षाद्वार पवित्र पण्डित वर श्री तोयनाथीय हो
धेरै मानिसबाट स्वीकृत यही सन्दर्भ मिल्दो छ यो
रस्तीबस्ती रमाइलो प्रिय दुराडाँडा यसै नै थियो
हाम्रो कर्मथलो खुला सरसिलो यो अर्चल्यानी भयो ।।१३।।

शिक्षाद्वार पुकारी गाविस सह्यो यो नाम बेसै थियो
कोहीको मनमानी ले किन यहाँ ओझेल पारी दियो ?
श्रेयांसीतिर विघ्न पर्छ अधिकै हुन्छन् विपक्षी जन
धोका दिन्छ बिगार्छ गोप्य तहले त्यो सुलसुले दुर्जन ।।१४।।

मैले जेजति आज वर्णन गरेँ त्यो हो सबै भौतिक
देखेका सब वस्तु यी क्षणिक हुन् क्यै छैन यसमा सुख
कुर्ली वेद–पुराण–शास्त्र यही नै भन्दै मुक्ति स्वतः
सारा मानिसका निमित्त छ उही अध्यात्म लाभान्वित ।।१५।।

ब्रह्मामा परमेशको वर मिली संसार पर्याप्त भो
जन्मी ती ऋषि देवदानव हरु त्रिलोक नै व्याप्त भो
भेट्टाई सुरुदेखि आज तक नै उत्कृष्ट केही चिनु
यो सृष्टिक्रम चालु नै रहिरह्यो धेरै अरु के भनूँ ।।१६।।

एकाकी म रहन्छु यो शयनमा सर्वत्र सत्चिन्तक
आफ्नै तर्क तरङ्ग छन् हृदयमा प्रत्येक यी प्रेरक
साथी पुस्तक लेखनी सकल छन् कापी मसीको धनी
ठानेको छु समूह भित्र खुस भई पढ्ने र लेख्ने बनी ।।१७।।

खाना हेरविचारमा सहचरी पत्नी भइन् सम्झने
छोराछोरी बुहारी छन् हरघडी सोझो भलो चाहने
खाँचो छैन मलाई कत्ति अहिले सम्पन्न सानन्द छु
प्यार ती सबमा छ स्नेह अधिकै कुतज्ञ आभार छु ।।१८।।


यदुनाथ सरल

No comments:

Post a Comment