Saturday, March 16, 2013

वैशाख आऊ तिमी



वर्षै नूतन भैसके दिन तथा यी रात नौला बनी
शिष्टाचार रहेन देश दुनियाँ छन् खिन्न सारा तिनी
नौला वर्ष अनेक सुन्छु तर खै प्यारा कता छौ भनी
आशा राखी म पर्खिएर बसुँला वैशाख आऊ तिमी ।

हामीले अझ पर्खनै छ मनका इच्छा सँगालीकन
यादै लुप्त हुने भयो रहरको प्यासी बन्यो जीवन
फुल्लान् फूल अनेक ती थरीथरी बेली चमेली पनि
बन्दै भाव विभोर पर्खिरहुँला  वैशाख आऊ तिमी ।

उब्जेका मनका पुरातन कथा ताजा रहून् भन्नु छ
कोही सज्जन भेटिए वरिपरी मीठा कुरा सुन्नु छ
निस्की स्वर्ण प्रभातले मुलुकमा देखाउला यो पनि
खाँचो नै छ यहाँ नयाँ समयको वैशाख आऊ तिमी ।

बस्ती विस्तृत बन्नुपर्छ मनमा उद्देश्य उब्जाउन
पीडा आतुरता हटी हृदयमा त्यै चाहना ल्याउन
आई त्यो ऋतुराजमा मिलिरहोस् उत्साहको सन्सनी
उर्लन्छन् नवसिर्जना हृदयमा वैशाख आऊ तिमी ।

नौला शब्द समेटिँदै दिनदिनै सर्वत्र गुन्जी रहून्
चिन्ता भोक र शोकले पिरलिने यो जिन्दगीमा नहून्
नौलोबाट हुँदै सशङ्कित अरू सोच्दै नसोचे पनि
चासो यै छ यहाँ नयाँ विषयको वैशाख आऊ तिमी ।

यी साहित्यिक बन्धु फेरि अरू ती उद्योगका सर्जक
चाहन्छन् हरएक नूतन कला बन्दै समालोचक
यो स्वाभाविक कल्पना हृदयमा फुर्ने हुनाले पनि
स्थायी प्रेरक भै यथासमयमा वैशाख आऊ तिमी ।

लागून् घाम यहाँ सधैँ ठीकठीकै चर्को खडेरी नहोस्
वर्षा, हूरी असाध्य भै मन रुने त्यस्तो अवस्था नहोस्
मिल्दो मौसममै समग्र हितमा शीतोष्ण सञ्जीवनी
सन्तोषी पन थप्न यो मुलुकमा वैशाख आऊ तिमी ।


— यदुनाथ सरल


No comments:

Post a Comment