Saturday, March 16, 2013

मनकामना दर्शन यात्रा



ब्यूँझी चार बजे प्रातः चाहिने के छ त्यो झिकी
सौचस्नानादि सिद्ध्याई जपपाठ सबै सकी
शुभ साइतमा निस्क्यौँ सम्झँदै मनकामना
दर्शनार्थी सबै भित्र थियो सफल चाहना ।

म तथा श्रीमती छोरी हामी तीन सँगै थियौँ
नातिनी भेटिई साथै फेरि चार जना भयौँ
कुरिन्टार झरी झट्टै केवुलकार चढी गयौँ
छङ्गाछुर उकालोमा अविराम छिटै पुग्यौँ ।

जब माथि पुगी देख्यौँ अधित्यका फराकिलो
धेरै पसल सामान थरीथरी रमाइलो
शताब्दी अधिदेखिको सजावट निरन्तर
कलाकौशल झल्केको विद्यमान छ मन्दिर ।

छहारी मय साथै छ त्यो ठूलो चाँपको रूख
चिटेका झ्याल ढोकामा बुट्टा विचित्र सम्मुख
त्यहाँको दृश्य राम्रो छ हेरिरहूँ घुमिरहूँ
प्रिय दर्शक देख्नेछन् धेरै गन्थन के कहूँ ।

सम्पुज्य जननी हुन् तिनी सबैकी मनकामना
दिएनन् भित्र गै हेर्न किन त्यस्तो विडम्बना ?
खर्च दुःख गरी आयौँ देवीमा गर्न दर्शन
त्यो पूर्ण हुन पाएन खिन्न भो भक्तको मन ।

हाम्रो गन्तव्यमा इच्छा देवी दर्शनकै थियो
हुँदै विवश फिर्ती त्यो स्वस्थानतिर मोडियो
वैज्ञानिक चमत्कार प्रविधि त्यो विचित्र छ
सात–आठ जना अट्न सकिने सिट भित्र छ ।

दातृ संस्थाहरुका ती योजना अर्थतन्त्र र
आगन्तुक हरुबाट उठेको दान दस्तुर
समावेश गरी सिद्ध योजना हो कि यो पनि
धर्म कल्याणको काम बेस ठान्दछ जो पनि ।

तारमा झुन्डिएका ती कारमा डर छैन क्यै
सानन्द बस्न पाइन्छ चिन्ताफिक्री हुँदैन क्यै
आतेजाते चलेकै छ गतिरोध नभै कतै
पर्खिरहन पर्दैन लैजान्छ यन्त्रले छिटै ।

केवुलकार कुरिनटार पथस्थल छ सुन्दर
चिटिक्क पारिएको त्यो अति राम्रो मनोहर
त्रिशूली नजिकै स्नान देह गर्न विसर्जन
जलवायु सदा स्वच्छ रमायो बस्न यो मन ।

भोजनालय छन् बेस खान बस्न परे पनि
खल्तीभरि भए पैसा किन्न पाइन्छ जे पनि
उक्ली शिखरमा पुग्न कठोर अधिकै थियो
धन्यवाद छ तिनैलाई जस्ले यो सुविधा दियो ।


यदुनाथ सरल


No comments:

Post a Comment