Wednesday, April 10, 2013

सम्झौँ चरी सर्वोपरि




जोडी ढुक्कुर आउँछन् वरिपरि केही नमानी डर
तिन्का निम्ति म पातमा अलिकति खाना लिई बाहिर
टक्य्राए पछि ती टपाटप टिपी खाएर एताउति
घुम्छन् आँगनमा डुली दिनभरी चारा मिल्यो हो कति ?

बच्चालाई बचाउने सँगसँगै साथी बनी ईश्वर
त्यो संरक्षक भै सदैव यिनको आधारकै खातिर
बन्दै नित्य दयालु जीवहरूको टेवा र सेवा दिई
बस्तो हो हितका निमित्त सबका भित्रै छिपेरै रही ।।

धर्तीका प्रिय जीवतर्पm रहने सर्वोच्च सञ्चालक
यौटा स्तुत्य अदृष्ट शक्ति जुन हो हाम्रो सदा पालक
लत्याई परमेशलाई शठले गर्छन् अनास्था भने
पश्चाताप शिवाय आखिर कतै क्यै छैन भेट्टाउने ।।

पृथ्वीका जलका र खेचर सबै प्राणीहरूको गति
देखी ढुक्कुर आदि ती सकलको चाला यहाँ सम्प्रति
दौडी यो प्रिय लेखनी सरसरी यस्तै यहाँ लेखियो
उर्लेको करुणा र ईश्वर कृपा सोचेर सम्पूर्ण यो ।।

हुर्काई बचरा यतातिर चरा आएर शोभा दिऊन्
खाई खेलि डुलेर नित्य रसिला गाना सुनाई रहून्
हाम्रो आश्रमका समीप यिनले पाईरहुन आश्रय
आशीर्वाद यता मिलेर सब ती बन्दै रहून् निर्भय ।।

बासस्थान बनाउँछन् नरम ती टोड्का तथा कुञ्जमा
बस्ता हुन् त्यसमा अटाइ सँग भै बच्चाहरू साथमा
न्यानू चट्ट नयाँ मुलायम अहा ! झिनामसिना तृण
जोडी निर्मित नीड सुन्दर सफा कस्तो कला सिर्जन !!

प्यारा ती बबुरा चरा निडर भै खेल्ने बनून् साथमा
हामी नै हुनुपर्छ नित्य तिनको सेवा र सम्मानमा
सम्झी बान्धव नै समग्र प्रिय ती प्राणीहरूको हित
गर्ने मानिस भैदिऊन् विनति यो लागोस् विवेकीसित ।।

—यदुनाथ सरल

No comments:

Post a Comment